गाईजात्रा ऐतिहासिक महत्त्वको सांस्कृतिक पर्वमात्र होइन एक व्यङ्ग्यात्मक जात्रा पनि हो। जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदाका दिनदेखि मनाइने गाईको जात्रा 'गाईजात्रा' शब्दबाटै यो हास्यव्यङ्ग्यको जात्रा हो भन्ने थाहा हुन्छ। परिवारका कुनै सदस्यको मृत्यु भएको वर्ष मृतकको स्मरणमा गाईलाई सिङ्गारेर या मान्छेलाई गाईको रुपमा सिङ्गारेरया मृतकको प्रतीकको रुपमा साँचा र ताहामचा बनाएर सहर परिक्रमा गराइने जात्रा होगाईजात्रा। यस पर्वमा गरिने प्रदर्शन छनक, दनक, घोचपेच हुने र छाँटकाँट र रङ्गढङ्ग नमिल्ने हुनाले यस पर्वलाई गाईजात्रे भनिएको हुनुपर्छ।
यो नाचगानसहितको जात्रा हो। यसैले यो जात्रा मनोरञ्जनात्मक छ। वर्षभरिमा समाजमा भएका, देखिएका कमि कमजोरी औंल्याएर व्यङ्ग्य प्रस्तुत गरिने भएकोले यस जात्रामा हास्यव्यङ्ग्यको भरपूर हुन्छ, जात्रामा घोचपेच या छेड हानिएको हुन्छ। विगतमा सामाजिक, व्यङ्ग्यमात्र हुन्थ्यो भने अहिले राजनीतिक व्यङ्ग्य पनि हुन थालेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक जगतमा घटेका घटनालाई गाईजात्रामा विषयवस्तु बनाई उपयोग गरिएको पाइन्छ। यसले सर्वसाधारण जनतामा थप राजनीतिक चेतना जगाउने काम गरेको छ। देश विदेशमा भइरहेको राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गरेर प्रदर्शन गर्नु गाईजात्राको महत्त्वपूर्ण पाटो हो। गाईजात्राको पहिलो दिन (जनैपूर्णिमाको दिन होइन) बिहानदेखि बेलुका ८/९ बजेसम्म मेला लाग्छ।
घिन्ताङगिसी नाचसहितको गाईजात्रा दिनभर भइरहन्छ। घिन्ताङगिसी नाचबाहेक अन्य परम्परागत नाचगानहरू पनि ल्याइन्छ। दिनभर नै भइरहने घिन्ताङगिसी नाचले रोमञ्चकता प्रदान गरिरहेको हुन्छ। 'गिनि त्वं गिनि त्वं घिन्ताङगिनि त्वं' को वाद्यवादनको बोलमा सबैजना एकै स्वर, तालमा नाच्छन्। यो गाईजात्राको मनोरञ्जनात्मक पक्ष हो। पहिले पहिले घिन्ताङगिसीमा पुरुषहरू महिलाको भेषभूषामा नाच्थे भने आजभोलि महिलाहरू नै नाच्न थालेका छन्। तथापि पुरुषहरू महिलाको भेषमा नाच्ने चलन छोडेको छैन। घिन्ताङगिसी नाचमा विदेशी पर्यटकहरू पनि तालमा ताल मिलाएर नाच्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै छ। तर आजभोलि घिन्ताङगिसी नाचको चालमा विकृत देखिन थालेको छ। घिन्ताङगिसी नाचमा पच्छिमेली तालले छुन थालेको छ अर्थात् घिन्ताङगिसीको नाच डिस्को शैलीमा परिणत हुन थालेको छ। बाजाको तालमा खुट्टाको चाल मिलाएर नाच्नुपर्ने यो नाचमा विकृत देखिनु यहाँको मौलिक नाचमा खिल्ली उडाउनु हो। परम्परागत मौलिक पहिचानलाई बिर्सेर पच्छिमेली शैली भित्र्याउँदा नयाँ पुस्ताले पनि पछि त्यसरी नै सिक्नेछ।
घिन्ताङगिसी नाचमा देखिएको यो विकृतिलाई सुधार गरेर परम्परागत शैलीलाई अङ्गाल्नुपर्ने देखिन्छ। घिन्ताङगिसी नाचमा एकातिर पच्छिमेली शैलीले छोएको छ भने अर्काेतिर लय, स्वर र तालमा ननाचिकन कराउने बानीको विकास भएको छ। कहिलेकाहीं अश्लील बोलीसमेत प्रकट भएको हुन्छ। यसको परिणाम नयाँ पुस्तामा नराम्रो छाप पर्न गएको छ। यसलाई सुधार्न नसके नयाँ पुस्ताले त्यसलाई अनुकरण गर्नेछ र गाईजात्राको मौलिक पहिचान लोप हुँदै जानेछ।
घिन्ताङगिसी नाचमात्र गाईजात्राको परिचय होइन। घिन्ताङगिसी नाच प्रदर्शनको साथै त्यसबेला साँझदेखि राति अबेलासम्म परम्परागत नाचगान, विभिन्न हास्य व्यङ्ग्यहरू देखाइन्छ। गाईजात्राको यो अर्काे विशेषता हो। यही गाईजात्राको समयमा यहाँ भएका सबैजसो नाचगानहरू देखाइनुपर्छ भन्ने जनस्रुति छ। सबैजसो नाचगान देखाउनुपर्छ भन्ने मान्यता भए पनि कतिपय नाचगानहरू लोप भइसकेका छन् भने कति लोपोन्मुख अवस्थामा छ। यहाँका लोकनाचहरूको संरक्षण गर्नु या जीवन्तता दिनु अर्काे चुनौती हो। यो चुनौतीको सामना गर्न या नाचगानलाई जीवन्तता दिन यसवर्ष भक्तपुर नगरपालिकाले पुरस्कारको बन्दोबस्त गरेर प्रतिस्पर्धा गराएको छ। भनपाको यस कार्यले परम्परागत नाचगानहरू फेरि प्रदर्शन गरिने विश्वास पलाएको छ। नपाको उक्त कदम स्वागतयोग्य र प्रशंसनीय छ।
गाईजात्रा अन्य जिल्ला र स्थानमा पनि मनाइन्छ। तर भक्तपुरको गाईजात्रा छुट्टै महत्त्वको र पहिचानको छ। अन्त घिन्ताङगिसीको नाच हुँदैन। साँचा र ताहामचा बनाउने ढाँचा पनि फरकफरक छ। साँचा र ताहामचा बनाउँदा र पुरुषको पुरुष भेषमा र महिलाको महिला भेषमा बनाइन्छ। बालबालिकाहरूको साँचा बनाइन्छ भने उमेर पुगेकाहरूको ताहामचा बनाइन्छ। साँचा र ताहामचालाई राम्ररी श्रृङ्गार गरिएको हुन्छ। साँचा र ताहामचा परिक्रमा गर्दा श्रद्धालु भक्तजनले फलफूल, रोटी दिने गरिन्छ। यसले वर्षमा कतिजना पुरुष, महिला र बालबालिका मर्छन् भन्ने थाहा हुन्छ।
घिन्ताङगिसी नाचको निश्चित बाटो छ। सबैले निश्चित बाटो भएरै नगर परिक्रमा गर्नुपर्छ। जनस्रुतिअनुसार गाईजात्राको दिन नौ पटक नौ भेष लगाएर नौ पटक खाएर घुम्नुपर्छ। आजभोलि यो भनाइ जनसु्रतिमा मात्र सीमित भएको देखिन्छ।
गाईजात्राको प्रारम्भ जनैपूर्णिमादेखि हुन्छ। जनैपूर्णिमाको दिन सरकारी घिन्ताङगिसी ल्याइन्छ। सोही दिन बिहान घरघरबाट आ–आफ्नो खेतमा 'व्याञ्चा जा' (भ्यागुतोलाई खाना) खुवाउने चलन छ।
No comments:
Post a Comment