यस वर्ष २०७४ साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवं रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीकै दिन मनाइएको थियो । २३ साउन शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्रग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको थियो । यसअघि २०२८ मा पनि पूर्णिमाका दिन चन्द्रग्रहण परेपछि नागपञ्चमीकै दिन रक्षाबन्धन र ऋषिपञ्चमी पर्व मनाइएको थियो । त्यसैले यो प्रस्तुत लेखमा पनि रक्षाबन्धन, ऋषितर्पणी र नागपञ्चमीलाई गाँसेर लेख्ने प्रयास गरेका छौं ।
जनैपूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी र श्रावणी पनि भनिने यो पूर्णिमाको दिनलाई क्वाँटी खाने पूर्णे भनिन्छ । यो पूर्णिमा सबै जात, धर्म र लिंगले समान रूपमा धार्मिक सहिष्णुतासहित मान्दै आएको पाइन्छ । यो पूर्णिमा शैव, हिन्दू र बौद्धमार्गीहरूको ठूलो पर्व हो । यही दिनमा गोसाइकुण्डको मेला रसुवामा, मणिलिंगेश्वर (मणिचूड दह) साँखुमा, कुम्भेश्वर महादेव पाटनमा, अनन्तलिंगेश्वर महादेव भक्तपुरमा र बनेपाको शिलुतीर्थ आदि स्थानहरूमा ठूलो मेला लाग्छ ।
नेवार समुदायमा गुँपुन्हीका नामले प्रचलित यो पूर्णिमा मनाउने क्रममा एकादशीका दिनदेखि भिजाइएको टुसा पल्हाएको क्वाँटी खाने गर्दछन् । क्वाँटी भन्नेबित्तिकै नौ थरी गेडागुडी सानो केराउ, ठूलो केराउ, गेडामास, मस्याङ, भुटी (बोडी), भटमास, सिमी, चना, बकुला आदि मिसाइएको हुन्छ । नेवारी समुदायमा यो दिन नौ थरी विभिन्न किसिमका खाना खाएर नौ वटा धाराको पानी पिएर, नौ थरी लुगा लगाएर, नौ वटा विभिन्न बौद्ध वहालमा घुमेर बहिद्यः प्रदर्शन गरिन्छ र द्वितीया दिनसम्म राखिन्छ । विभिन्न बुद्धका बहालहरूमा बहिद्यः प्रदर्शन गर्ने भन्दै बुद्ध मूर्तिहरूका साथै चालमको ठूलो गेडा, सानो गेडाका साथै सुनको अक्षर, चाँदीको अक्षरले लेखेका नामसंगती स्त्रोत्र, पौभाः, पुराना लुगा, भाँडाकुडा, बौद्ध जातकका कथाहरू भएका पौभाः आदि पनि प्रदर्शन गरिन्छ । ताहाचलस्थित ‘खुसीबहिल’ भन्ने बहालमा ‘ज्यामति सिलपत्ता’ भनेर महिलाहरूका पुराना विभिन्न लुगाहरू प्रदर्शन गरिन्छ । त्यस्तै, केशचन्द्र परावर्त महाविहार इटुम्बहालमा गुरुमापाको कथा चित्रित पौभाः र विक्रमशील महाविहार ठमेलमा सिंहसार्थ बाहु (चकंद्यः) को सिंहल द्विप यात्राको पौभाः र सुनको अक्षरले लेखिएका नामसंगति स्त्रोत्र र प्रज्ञापारमिता प्रदर्शन गरिन्छ । यसरी, प्रदर्शन गर्ने क्रममा नेवार समुदायले प्रयोग गर्ने गरेका विभिन्न प्रकारका मिठाइका परिकार पनि प्रदर्शन गरिन्छ । गुँपुन्हीका दिन ‘ब्याँजा नकेगु’ भनेर काठमाडौं उपत्यकाका किसानहरूले भ्यागुतोलाई खेतमा भात खुवाउँछन् । भ्यागुतोले खेतमा लाग्ने विभिन्न कीरा फट्यांग्रा खाएर बालीनाली राम्रो पार्ने भएकैले भ्यागुतोलाई मान्दै आएको भन्न सकिन्छ । यो दिनमा कतैकतै कागलाई पनि भात खुवाउने गरिन्छ । यही समयमा सिन्हा ज्याम्ये (असारे गीत) र सिलु म्ये (गोसाइकुण्डको गीत) पनि गाउने गरिन्छ । यसरी, नै बौद्ध धर्मावलम्बीहरूको श्रावण महिनाभरि नै गुँला पर्व मनाउने सन्दर्भमा स्वयम्भूमा घुइँचो लाग्ने गर्दछ ।
जनैपूर्णिमाका दिन हिन्दूमार्गीहरू बिहान सबेरै उठेर खोला वा पोखरीमा नुहाएर जनै फेर्ने भएकोले जनैपूर्णिमा भनिएको हो । नेवारहरूमा ६ थरी श्रेष्ठ, कर्माचार्य, गुरुवाचार्य, जोशी, पमाय, अमात्य, राजभण्डारीहरूले जनै फेर्नुपर्छ । ब्राह्मणहरूले जनै फेरेर, जनै (रक्षा सूत्र) बाँधी दिने गर्छन् । जनै रक्षा सूत्र बाँधीदिँदा ब्राह्मणहरूले यसरी मन्त्र पढ्छन्, ‘येन बद्यो बलिराजा दान बेन्द्रो महाबलः । चतेन त्वाँ प्रतिबध्नामी रक्षेमा चल मा चल ।’ अर्थात् जुन भगवान्ले एकदम बलवान शक्तिशाली दानव राज बलीलाई रक्षा गर्नुभयो त्यही रक्षा मन्त्रले मैले तँलाई बाँधेर राखें । हे रक्षा सूत्र, निश्चल भएर रक्षा गरेर बस । हुन त रक्षा सूत्र काँचो धागो बाटेर बेसार लगाइएको हुन्छ । आयुर्वेदमा बेसारलाई ज्यादै काम लाग्ने वस्तुका रूपमा लिइन्छ । यसमा कीरा मार्ने शक्ति छ । त्यसैले, बेसारलाई ऐन्टिसेप्टिक वा एन्टिबायोटिकका रूपमा पनि प्रयोग गरिँदै आएको पाइन्छ । यो दिन लोग्ने मानिसले दाहिने हातको नाडीमा र स्वास्नी मासिनले देब्रे हातको नाडीमा रक्षा सूत्र डोरो बाँध्यो भने वर्षदिनसम्म कुनै रोग नलाग्ने र नराम्रो तŒवले छुन सक्दैन भन्ने धारणा रही आएको पाइन्छ । तिहारमा लक्ष्मी पूजाका दिन जनै डोरो फुकालेर गाईको पुच्छरमा बाँधेर गाईको पूजा ग¥यो भने मरेपछि गाईको पुच्छर समाएर वैतरणी नदी तर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ ।
तागाधारीहरूले यो दिन बिहान सबेरै खोलामा गई दत्तिवनले दाँत माझेर, सेतो माटो, गोबर र खरानी जिउमा दलेर नुहाएर सप्तर्षी कश्यप, भारद्वाज, गौतम, अत्री, जगदग्नि, वशिष्ठ एवं विश्वामित्रसहित अरुन्धीहरूलाई पूजा गरेर तर्पण गरिने भएकाले यसलाई ‘ऋषि तर्पणी’ पनि भनिएको हो । ऋषिहरूलाई चढाएको चोखो जल र महादेवलाई चढाएको जलले जनै र धागोमा मन्त्र पढिन्छ । यो दिन पशुपतिनाथ र विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरूमा जनै फेरेर भगवान्को दर्शन गर्नेहरूको भीड लाग्छ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले यसलाई श्रावणी भनिएको हो । यो दिन सबैले क्वाँटी खाने भएकाले ‘क्वाँटी पूर्णे’ पनि भनिन्छ । टुसा पल्हाएको नौ थरी गेडागुडीको क्वाँटी पकाएर खाँदा शरीरलाई आवश्यक विभिन्न पोषक तŒव सजिलै प्राप्त हुन्छ । रोपाइँको समयमा जताततै पानीले रुझेर रोपाइँ गर्दाको सर्दी क्वाँटी खानाले हट्छ । रक्षाबन्धनलाई तराईतिर ‘राखी बन्धन’ भनिन्छ । दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई हातमा राखी धागो बाँधेर आफ्नो भ्रातृप्रेम सधैं कायम रहिरहोस् र राखीले रक्षा गरिरहोस् भनेर दाजुभाइको पूजा गर्छन् । यो दिन महादेवलाई पूरा गरेर मेला भर्ने क्रममा गोसाइकुण्डमा मेला भर्न जान नसक्नेहरूले पाटनको कुम्भेश्वर महादेवको पोखरीमा मेला भर्न जान्छन् । यो पोखरीमा गोसाइकुण्डको जल बगेर आइरहेको छ भनिन्छ । अघिल्लो दिन बेलुका सर्वेश्वर महादेवको छुट्टै मूर्तिलाई पुजारीले दुवै हातले समाउँदै जात्रा गर्दै ल्याएर कुम्भेश्वर पोखरीको बीचमा राख्छन् र भोलिपल्ट बिहान नहुँदै विभिन्न ठाउँहरूबाट हुल मानिसहरू कुम्भेश्वर पोखरीमा मेला भर्न आउँछन् । कुम्भेश्वर महादेव मन्दिरको बीच भागमा देखिएको ठूलो शिवलिंग सर्वेश्वर महादेव बहुक् भने इशानकोणमा रहेको सानो शिवलिंग कुम्भेश्वर हुन् । स्मरण रहोस्, सर्वेश्वर महादेव ६४ शिवलिंगमध्ये एक हुन् । यो दिन त्यहाँ विभिन्न स्थानबाट झाँकीहरू ढ्यांग्रो बजाएर मेला भर्न आउँछन् । बेलुका सर्वेश्वर महादेवको जात्रा गरिन्छ ।
श्रीस्वयम्भू महापुराणका अनुसार यो कुम्भ तीर्थमा सर्वपाल वैद्य उद्धार भएर गएकाले यो दिन बौद्धमार्गीहरूले ल्वांग, सुपारी, फूल लिएर नुहाएर कलश दान गर्छन् । दयुसाया अर्थात् तृतीयाका दिन मतया (बत्ती बाल्न) जाने भनेर सिङको जात्रा आयोजकका तर्फबाट यो दिन नौबाजा सिङ फुकेर बजाउँछन् । कीर्तिपुरमा झ्याँझ्याँ पापा भनेर जात्रा मनाउँछन् भने भक्तपुरमा धिन्ता किसी ट्वाक्क भनेर गाईजात्राको दिन मनाउँछन् । काठमाडौं उपत्यका भिन्न विभिन्न स्थानमा वर्षभरि मरेका व्यक्तिका नाममा गाई पठाउने, मान्छेलाई गाई र गोसाई जोगी बनाएर पनि पठाइन्छ र नगर परिक्रमा गराइन्छ । कृष्णअष्टमीसम्म नौ दिनसम्म देशको सामाजिक, आर्थिक र राजनीतिक विषयलाई लिएर व्यंग्य गर्ने, हास्यव्यंग्य निकाल्ने, रोपाइँ जात्रा, लाखे नाच, बाघ जात्रा, विभिन्न नेवताका जात्रा, नाचगान निकाल्नेजस्ता विभिन्न रमाइला कार्यक्रमको प्रदर्शन गरिन्छ । यो मेला वा पर्व सबै जाति, धर्म र सम्प्रदायले समान रूपमा मनाउँदै आइरहेको पाइन्छ । यसर्थ यो मेलालाई धार्मिक सहिष्णुताको रूपमा रमाइलोसँग मनाइने पर्वका रूपमा लिइँदै आइरहेको छ ।
काठमाडौं उपत्यकामा नेवारले नेवारी धर्म, संस्कृति र परम्पराअनुसार नागलाई विशेष रूपमा मान्दै आएका छन् । त्यसैले नेवारी समुदायले नागलाई अत्यन्तै सम्मान गर्छन् । नेवारी संस्कृतिमा अभिन्न रूपमा नागको विशेष स्थान रही आएकाले नै नागलाई पूजा गर्ने, विभिन्न चाडवाड र जात्रामा पनि नागलाई विशेष महŒव दिई मान्दै आएको नेवारी संस्कृतिले झल्काइरहेको छ । नाग बस्ने ठाउँ अर्थात् नागको बासस्थानको आधारमा बज्रयान बौद्ध परम्पराअनुसार १२ तीर्थको पनि विकास भएको देखिन्छ । नागको बासस्थानअनुसार वरुण नागराज टेकु दोभानमा चिन्तामणि तीर्थ तक्षक नागराज चाँगुपुण्य तीर्थ त्यस्तै शान्ति तीर्थ कोटेश्वर, शंकर तीर्थ, शंकमूल, ज्ञानतीर्थ, प्रमोद तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ र राजतीर्थहरू विभिन्न नागका बासस्थान हुन् । हरेक वर्ष नागपञ्चमीका दिन ती नागका बासस्थान तीर्थमा गई नागलाई पूजा गर्ने गरिन्छ । त्यस्तै, घरैपिच्छे नागको चित्र मूल ढोकामा टाँसेर पूरा गर्दा नागले घरको रक्षा गर्छ, चट्याङ पर्दैन भन्ने विश्वास छ । बज्र इन्द्रको हतियार हो भने इन्द्र र नागको एउटै पिता कश्यप ऋषि भएकाले दाजुभाइको बीचमा बज्रप्रहार गर्नुहुँदैन भन्ने मान्यता पनि पाइन्छ ।
कश्यप ऋषिकी श्रीमती कद्रबाट नागको जन्म भएको हो । नाग सर्पहरूको राजा पनि हो । नागको पूजा गर्नुमा धार्मिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक मान्यता पनि रहीआएको छ । विष्णु भगवान् र महादेवलाई अत्यन्तै मनपर्ने भएर नै भगवान् विष्णु नागमाथि विश्राम गर्नुहुन्छ भने महादेवले नागको माला लगाएर बस्नुभएको हो । बुद्ध धर्ममा पनि नागको महŒव छ । त्यसैले, बुद्धको मुकुण्डोमा पनि नागको प्रतीक राख्ने गरिन्छ । नागहरूमा मुख्यतया आठ किसिमका अनन्त, वासुकी, पद्म, महापद्म, कुलिर, कर्कट, शंख र चष्टलाई विशेष रूपमा लिइन्छ । राजधानी दैनिकबाट
No comments:
Post a Comment