समान्यतया अल्ट्रासाउण्डकुनै परीक्षणको लागि गरिन्छ। एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै अल्ट्रासाउण्ड पनि परीक्षणको प्रविधि हो। अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ। यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ। यसको सबैभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ। पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो। पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ। कलेजोमा समस्या छ, किड्नीमा कुनै समस्या छ भने पनि अल्ट्रासाउण्ड नै गरिन्छ। पेटको कुनै अंगहरूमा समस्या छ भने त्यो पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ।
पेटमा रहेका अंगहरू किड्नी, कलेजो, गलव्ल्याडर, प्यानक्रियाज, प्रस्टेस्टलगायतका अंगहरू पेटको अल्ट्रासाउण्डमार्फत गर्न सकिन्छ। थायराइडको परीक्षण, छातीको परीक्षणमासमेत यसको प्रयोग गरिन्छ। रक्त-नशाको समस्या आएमा पनि अल्ट्रासाउण्ड मार्फत पत्ता लगाउन सकिन्छ। नेपालमा यसलाई भिडियो–एक्सरे पनि भनिन्छ। तर अल्ट्रासाउण्ड फरक हो। भिडियो–एक्सरेमा भिडयो खिचेर पत्ता लगाउने भएर यस्तो भनिएको हुन सक्छ। तर यसमा एक्सरे हुँदैन। अल्ट्रासाउण्डमा ‘हाइफ्रक्वेन्सी’को ‘साउण्ड वेभ’ प्रयोग गरिन्छ।
यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसमा ‘रेडीयशन’ हुँदैन। जसले मानिसलाई हानी गर्दैन। अहिलेसम्म यसको डरलाग्दो साइडइफेक्ट पनि केही देखिएको छैन। यो बच्चादेखि बालबालिकासम्मलाई प्रयोग गर्न सकिन्छ। अल्ट्रासाउण्डले सबै कुरा देख्छ ।
कतिपय अवस्थामा यसको दुरुपयोग पनि हुन सक्छ। विशेष गरी गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्दा छोरा–छोरी पत्ता लाग्ने भएकोले कतिपए अवस्थामा भ्रुण हत्याकासमेत खतरा देखिएको थियो। तर अहिले बच्चाको अवस्थाबारे जानकारी दिइने मात्रै गरिन्छ। छोरा हो या छोरीबारे जानकारी दिइँदैन। छोरा–छोरीबारे जानकारी दिन नपाउने व्यवस्था कानुनी रुपमा नै गरिएको छ।
यसको विशेषता
यसको मुख्य विशेषता भनेको यसले बिरामीलाई कुनै हानी गर्दैन। यो सस्तो र सुलभ हुन्छ। पेटको समस्या भएको बेलामा त यो अनिवार्य जस्तै भइसकेको छ। यसको अरूभन्दा राम्रो पक्ष भनेको यसले अरूले भन्दा सजिलैसँग रोग पत्ता लगाउँछ। पानीको फोका होकी रगत जमेको छ भने अरू माध्यमबाट पत्ता लगाउन कठिन हुन्छ भने अल्ट्रासाउण्डबाट सजिलै पत्ता लाग्छ। नेपालमा विगत झण्डै पन्ध्र वर्षयता व्यापक मात्रामा यसको प्रयोग भइरहेको छ।
अल्ट्रासाउण्ड कसरी गरिन्छ
अल्ट्रासाउण्ड थरी–थरीका हुन्छन्। बढी मात्रामा पेटको नै अल्ट्रासाउण्ड गर्ने गरिन्छ। यसको लागि कम्तीमा ६ घण्टा खाली पेट राख्नुपर्छ । पिसाब पनि रोक्नुपर्ने हुन्छ। यो पुरूषका लागि भन्दा पनि महिलाका लागि बढी जरुरी छ। पिसाब रोक्यो भने पाठेघरको अवस्थाबारे थाहा पाउन सकिन्छ।
प्रोब भन्ने प्रविधि हुन्छ। शरीरको जुन अंगको अल्ट्रासाउण्ड गर्ने हो त्यो सँगै छालामा थोरै जेल हालेर राखिन्छ। त्यो भयो भने प्रोबले त्यहाँ भएको सबै‘इन्फर्मेशनलाई’ भिडियोमा देखाउँछ।
यसको उपलब्धता
यो नेपालका धेरै ठाउँमा उपलब्ध छ। यो धेरै खर्चिलो पनि छैन। सरकारी अस्पतालमा चार–पाँच सय रूपैयामा पनि अल्ट्रा साउण्ड हुन्छ भने निजी अस्पताल तथा क्लिनिकहरुले एक हजार रुपैयासम्म पनि लिने गर्छन्। यो पनि प्रविधि हेरेर हुन्छ। अहिले आएको नयाँ प्रविधि अनुसार गर्ने हो भने कतिपए अल्ट्रासाउण्डको चार–पाँच हजार रुपैयासम्म पनि खर्च लाग्छ। साधरणतया पेटको अल्ट्रासाउण्ड गर्दा एक हजार रुपैयासम्म पर्न सक्छ। कुन अंगको गर्ने र कुन प्रविधिले गर्ने भन्नेमा भर पर्छ।
No comments:
Post a Comment