Breaking

Tuesday, August 22, 2017

प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान : के सिमा विवाद समाधान होला ?

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानुभएको हो ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ जानुभएको हो ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।

प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई आजै सम्बोधन गर्नुहुनेछ ।

बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।

दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुहुनेछ ।

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कनु हुनेछ । रासस

नेपाल-भारत सिमा विवाद पटक पटक भैरहेको छ रातरात सिमा नाकाका जंगे पिलरहरु गायब हुन्छ अनि सारिन्छन यो सब देख्दा देख्दै नेपाल सरकार,प्रशासन मौन बसिरहेको छन् | सिमा विवादकै कारण गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका भारतीय एसएसबीको गोलि लागि गोविन्द गौतमले मृत्युबरण गर्नु पर्यो |

गल्ति गर्ने सरकार अनि मर्ने चाही सिमा नाकाका जनता खै कहाँ छ न्याय ? गौतमलाई गोली हान्ने भारतीय एसएसबी किन अहिले सम्म कारबाही गरेको छैन | भारतले सुरक्षाबल माथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाको दोषीलाई कारबाही गरेको छ न छानबिनबारे नेपाललाई कुनै जानकारी नै दिएको छ ।

यो पाँच महिनाको अवधिमा नेपालले पनि छानबिनबारे के भइरहेको छ भनेर भारतसँग सोधेको छैन । यसअघिका भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीजस्तै कञ्चनपुरमा भएको ज्यादती पनि छानबिनको नाममा सेलाएको छ ।

‘घटनाबारे छानबिन भइरहेको छ, सकिएपछि नेपाललाई जानकारी दिइन्छ’, गोविन्द गौतम मारिएको घटनाको घटनाको छानबिनबारे जिज्ञासा राख्दा काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीत शर्माले भनिन् ।

गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतम आफ्नो श्रीमानलाई गोली हान्ने एसएसबीका जवानमाथि भारत सरकारले छानबिनपश्चात कारबाही गर्ने भन्ने सुनेको तर अझैसम्म कारबाही नहुँदा आफूलाई पीडा भएको बताउँछिन् ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी सुदूरपश्चिमका हुन् । यसकारण लक्ष्मीलाई आफूले न्याय पाउने र दोषीमाथि कारबाही हुने आशा जागेको छ । प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमणको सिलसिलामा बुधबार त्यसतर्फ जाँदैछन् । प्रधानमन्त्रीले आफू र आफूले जस्तै पीडा भोगेका नेपालीका आवाज भारतसमक्ष उठाउने लक्ष्मीको विश्वास छ ।

‘सीमा विवाद नसुल्झिँदा मेरो सिन्दूर पुछियो, सीमा छुट्टिएन भने अझै धेरैको सिन्दूर पछिन सक्छ । त्यसैले म प्रधानमन्त्रीज्यूलाई सीमा विवाद मिलाएर आउनोस्, सीमाका कारणले अब कसैको सिन्दूर नपुछियोस् भन्न चाहन्छु,’ लक्ष्मीले प्रधानमन्त्रीलाई सुझाव दिँदै भनिन् । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment