सुनिताको दुःखद जिवनको कहानी यस्तो छ जसले सबैको मन रुन बाध्य बनाउँछ । यति पिडामा आत्महत्याको विकल्प लिनु कुनै आश्चार्य त होइन । यसरी मृत्य पश्चात उनको पिडाको खुला ऐन सार्वजनिक भएको छ ।
धादिङको निलकण्ठ नगरपालिका ८ की सुनिता मगर गएको जेठ १६ गते पोखरामा झुण्डिएको अवस्थामा फेला परिन् । उनलाई दुई वर्ष पहिले सिरियाबाट मुश्किलले उद्धार गरेर नेपाल फर्काइएको थियो । सिरियाली घर मालिकले बन्धक बनाएकी सुनितालाई नेपाल ल्याउन ५ लाख रुपैयाँ बुझाउनु परेको थियो । एनआरएन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठ र मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योती मगरको पहलमा पैसा जुटाएर उनलाई २०७२ साल असार ३० गते उद्धार गरी घर फर्काइएको थियो । दुई वर्ष पहिले सिरियाबाट फर्किंदा सुनिता मगर घर फर्किएको ८ महिनापछि सुनिता पोखरा बस्न थालेकी थिइन् ।
पोखराको एउटा टेलर्समा सिलाईकटाई सिक्दै गरेकी सुनिता काम सिकेर आफ्नै टेलर्स चलाउने योजनामा थिइन् । तर उनको यो योजना पूरा नहुँदै प्राण गयो । सुनिताले झुण्डिएर आत्महत्या गरेको पोष्टमार्टममा संलग्न डाक्टरले भनेका छन् । तर सिरियामा अनेक हण्डर खाँदा पनि नहारेकी सुनिताले आत्माहत्या गरेको परिवारलाई विश्वास लागेको छैन । बिहान आफूलाई बिदा गरेकी छोरी म घर नपुग्दै कसरी मर्थी’ आमा सावित्रीले शंका गर्दै भन्नुभयो, ‘उसको हत्या भएको हो, आफैं मर्ने भए सिरियामै मर्थी ।’ त्यही दिन बिहान सावित्री सुनिताको कोठाबाट घर फर्किनु भएको थियो । तर सावित्री घर नपुग्दै पुग्यो छोरीको मृत्युको खबर । सुनिताको मृत्युको खबर सुन्नासाथ सावित्री फेरि पोखरा फर्किनुभयो । उहाँ पुग्दा सुनिताको पोष्टमार्टम सकिएको थियो ।
अर्की बिहे गरेर छुट्टै बसेका श्रीमान सुनिताको शव बुझ्न अस्पतालमै कुरिरहेका थिए । उनैले सुनिताको शव बुझे र दाहसंस्कार गरे । बिहान दुई पोका चाउचाउ र बिस्कुट छोरीको कोसेली बोकेर फर्केकी सावित्रीले साँझमा लास भेट्नु भयो । ‘राम्रोसँग जाउ, छोराछोरीले के पठाइन् ममिले भन्दा हुन्, यही चाउचाउ फुटाएर बाँडीदेउ’ यो नै सावित्रीको छोरीसँगको अन्तिम संवाद बन्यो । चाउचाउ र बिस्कुटका पोका नै बिपिन र एलिनालाई आमाको अन्तिम उपहार बन्यो । कान दुख्ने बिरामले च्यापेपछि सावित्रीलाई उपचारका लागि सुनिताले नै पोखरा बोलाएकी थिइन् । तर कानको अप्रेसन गर्न ९० हजार रुपैयाँ खर्च चाहिने भयो । काम सिक्दै गरेकी सुनिताको कमाई थोरै भएकाले आमाको उपचार गर्ने खर्च पुगेन ।
आर्थिक अभावले उपचार गराउन नसकेपछि एकहप्ता सुनिताको कोठमा बसेर सावित्री उपचार नगराई घर फर्किएकी थिइन् । अब पैसा कमाएपछि उपचार गरौंला भन्ने छोरी दुई सन्तान समेत साबित्रीको साथमा छाडेर बितिन् । सुनिताका बाबुआमा र छोराछोरी यसरी गुमाए आमाबाबुको साथ बिपिन र एलिनाले सुनिताका १२ वर्षे छोरो र ८ वर्षे छोरी छन् । उनीहरु पहिले देखिनै मावल बस्दै आएका थिए । १३ वर्ष पहिले ज्वालामुखी गाउँपालिका ३ को मैदीका विकास मगरसँग बिवाह गरेकी सुनिताको श्रीमानसँग सम्बन्ध धेरै लामो समय टिकेन । छोरो जन्मिएको दुई महिनापछि नै सुनितालाई ससुरालीमा छाडेर विकास काम गर्न भारत गएका थिए । दुई वर्ष भारतमा काम गरेर फर्किएका विकास दुई वर्ष ससुरालीमै बसे ।
त्यसपछि जहानपरिवार सहित पोखरा गएका विकास र सुनिताकी छोरी जन्मिन् । पोखरा पुगेको एक वर्षमै बालख छोराछोरी र सुत्केरी श्रीमतीलाई छाडेर विकासले अर्को विवाह गरे । त्यसपछि विकास सुनितासँग बसेनन् र परिवारको रेखदेख गर्न पनि छाडे । बालबच्चा र आफ्नो सबै खर्च सुनिताले नै धान्नु पर्यो । झण्डै एक वर्ष श्रीमानको सहयोगबिनै धानेकी सुनितालाई दिक्क र गाह्रो लाग्न थालेको थियो । त्यसैबेला पोखरामा एक महिलाले सुनितालाई काम गर्न विदेश जान सल्लाह दिइन् । उनको कुराले सुनिताको मन बरालियो । उनले भनेजस्तो हुने भए कमाएर सुखका दिन काट्ने मोह जाग्यो । तीनै महिलाले झापाका एकजना दलालसँग भेट गराइन् । ती दलालले सुनिताका सबै कागजात तयार गर्न सघाए र २०७० सालको वैशाखमा भारतको बाटो हुँदै द्वन्द्वग्रस्त देश सिरिया पुर्याए ।
सुनिता सिरिया गएपछि छोराछोरी पोखराको डेरामा बहिनी पार्वतीसँग बसिरहेका थिए । तर पार्वतीले केहि महिनामै बिवाह गरिन् । त्यसपछि बिपिन र एलिनाको बिचल्ली भयो । छोरी एलिनालाई बाबु विकासले पोखराकै आफ्नो डेरामा लगेपनि विपिनलाई लगेनन् । बिपिन एक्लै भएपछि मावलीले धादिङ ल्याए। छोराछोरीलाई साइकल र नाना ल्याइदिन्छु, आमालाई मातातिर्थ औंसीमा फर्किन्छु भन्दै बिदा भएकी सुनिता भने घर छाडेदेखि नै परिवारको सम्पर्कमा थिइनन् । एकैचोटी दुई वर्षपछि २०७२ साल वैशाख अन्तिम हप्ता सुनिताले आमालाई फोन गरिन् ।
लामो समयपछि कुरा गर्न पाएपनि साबित्रीलाई छोरीको फोनले खुसी मिलेन । झनै आपत आइलाग्यो । छोरी फर्काउन ५ लाख रुपैयाँ जुटाउनु पर्नेभयो । सुनिताले भनेकी थिइन, ‘मलाई बचाउने भए ५ लाख रुपैयाँ पठाइदिनु ।’ तर ६ महिना मात्रै खानपुग्ने अन्न उब्जाउने सावित्रीका परिवारसँग ५ लाख रुपैयाँ जुटाउने औकात थिएन । यो परिवारले ६ महिना खाने अन्न बेसाउनु पर्छ । सुनिताका बुबा तिलक पत्थरी भएर अप्रेसन गरेपछि बाहिरफेरको काममा सावित्री नै अघि सर्नुपर्छ । सुनितालाई उद्धार गर्न पनि सावित्रिले नै हार गुहार गर्नुभयो । धादिङको वैदेशिक रोजगारीका बारेमा काम गर्ने संस्थामा गएर छोरी आपतमा परेको कुरा सुनाउनु भयो ।सिरिया पुगेकी सुनिताका कागजात कसरी तयार भए, कुन मेनपावर कम्पनीले पुर्यायो सिरिया, परिवारलाई केहि पनि थाहा थिएन ।
वैशाखमा विदेश हिँडेकी सुनिताले आमासित मातातिर्थ औंसीमा फर्कन्छु भनेकी थिइन् । तर दुई पटक माता तिर्थऔंशी सुनिता बिनै गए । जुन दिन खबर आयो, त्यो खबरले परिवारमा पीडा थपिदियो । विदेशमा कमाएर फर्केली भनेकी छोरीले उल्टै पैसा पठाउन भनिन् । साबित्रीलाई नाति नातिना हुर्काउने र सिरिया पुगेकी छोरी कसरी फर्काउने भन्ने चिन्ताले सतायो । तर पोखरामा बस्दै आएका सुनिताका श्रीमान भने कान्छी श्रीमतीसँगै रमाई रहेका थिए । सुनिता अलपत्र परेको खबर सूचना केन्द्रले पठाएपछि उज्यालो अनलाइनमा छापियो । त्यो खबर परदेशमा रहेका नेपालीले पढे र उद्धारमा चासो देखाए । सुनितालाई बेचेर दलालले लगेको ५ लाख रुपैयाँ सिरियाली साहुलाई फिर्तागरेपछि सुनिता सिरियाको कष्टकर जीवनबाट मुक्त भएर नेपाल फर्किइन् ।
सुनिताको माइती घर नेपाल आएपछि पनि बालबच्चाको भविष्यको चिन्ता त थियो नै, जानेबेला छोरीछोरीलाई फकाउन गरेका बाचा पुरा नगरि फर्किएकी थिइन् । घर फर्किने गाडीको टिकट समेत अरुले नै काटिदिएका थिए । साउने सक्रान्तिका दिन सुनिता खालि हात घर पुगिन् । जहाँ उनलाई बाआमा र बालख छोराछोरी पर्खिरहेका थिए । सुनिता आउने कुरा थाहा पाएपछि बाबुसँग भएकी छोरी पनि मावलीले नै ल्याएका थिए । घर फर्किएपछि सुनिताले बालबच्चा भेट्न त पाइन् तर उनीहरुसँग विदेश जाने बेला गरेका बाचा भने पुरा गर्न सकिनन् । आमासँग पछुतो मान्दै भनिन्, ‘तिमीले भनेको नमान्दा साह्रै दुःख पाएँ, अब विदेश जान्न ।’सुनितालाई पहिले आमाले विदेश नजान भनेकी थिइन् ।
तर राम्रो कमाई हुन्छ भन्दै आमाको कुरा सुनिनन् । घर फर्किएपछि भने दुई महिनासम्म सुनिता बालबच्चासँगै माइतीमै बसिन् । दुई महिनापछि स्वास्थ्य चौकीमा सहयोगीको काम पाइन् । तर ६ महिना काम गरेपछि जागिर सकियो । गाउँका साथीहरु पोखरामा बस्थे । उनीहरुले बोलाएपछि छोराछोरीलाई माइतमै छाडेर सुनिता पोखरा गइन् । पोखरामा सिलाई कटाईको काम सिकेकी सुनिताको एक महिनापछि धादिङबेसीमा आफैं टेलर्स खोल्ने योजना थियो । तर अधुरै रहयो । न त पूरा भयो बिपिन र एलिनाको आमाबाबुसित बस्ने रहर नै । सुनिताका सन्तानको भविष्य के होला ?
बिपिन र एलिना धादिङको मुरलीभन्ज्याङमा रहेको मावल घरमै बस्छन् । मावलमा माटोको दुईतले घर छ । घरसँगै जोडिएको छ मतान । मतानको भुईंतलामा गाईवस्तु बाँधिएको छ । त्यसको माथिल्लो तलामा छ बिपिन र एलिनाको ओछ्यान । ओछ्यानको नजिकै भित्तामा झुण्ड्याइएको छ आमा सुनिताको तस्बिर । मावलमा सुनिताका छोरा छोरी बिपिन र एलिनाको बस्ने ठाउँ यही हो । यही खेल्छन्, यही बसेर गृहकार्य गर्छन् । घरमा बस्दा पनि प्रायः पढिरहन्छन् । नजिकैको कालिका आधारभूत विद्यालयमा बिपिन ५ र एलिना २ कक्षामा पढ्छिन् । बिपिन ४ बाट ५ कक्षामा जाँदा तेश्रो भएका थिए । विद्यालयका प्रधानाध्यापक मेघनाथ कोइरालाले भने, ‘बिपिनको पढाई साह्रै राम्रो छ । उसले घरमा वातावरण पायो भने अझै राम्रो गर्न सक्छ ।’ आफ्नै जीवन उध्रिएका बिपिन र एलिना कापीकिताव र विद्यालय पोशाक पनि सग्ला लाउन पाउँदैनन् ।
यो अभाव उनीहरुको अहिले सुरु भएको होइन । आमा छउन्जेल पनि यस्तै दुःख र अभावले छाडेको थिएन । पहिले आमा भएपनि खान लाउन मावलीकै भर थियो । ५६ वर्षे हजुरआमा सावित्रीले नै आमाको जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । आमा बितेको एक महिनासम्म दाजुबहिनी नै विद्यालय गएनन् । छोरीको वियोगले अचेत सावित्रीले नातिनातिना विद्यालय पठाउन सकिनन् । अब त झनै नातिनातिनाको भविष्य के होला भन्ने चिन्ता उहाँलाई थपिएको छ । ‘म केनै गर्न सक्छु र । आफ्नै बाँच्ने रहर पुगिसक्यो ।
यो जुनी त मर्नु नै ठिक जस्तो लाग्न थाल्यो,’ साबित्रीले भनिन्, ‘यिनीहरुको बिजोग हेर्नु भन्दा राम्रो पढाउने र खान लाउन दिने मान्छे भेटे जिम्मा लाउँथे ।’सावित्रीलाई हात गोडा लागुन्जेल पाल्ने हिम्मत भएपनि आफ्नो शेखपछि छोराबुहारीले नहेर्लान् भन्ने चिन्ता छ । सावित्रीलाई श्रीमान् तिलकले सम्झाउँछन्, ‘जे लेखेको छ त्यही खेप्नुपर्छ, पीर नगर् ।’तर बारम्बारको सन्तान वियोगको पीडामा त्यति सजिलै कहाँ मल्हम लाग्थ्यो र । यदि लेखेकै खेप्नु पर्ने हो भनेपनि सावित्रीले खेप्न सक्ने उहाँको जीवनमा लेखिएकै रहेनछ ।
यो पटक उनीहरुले तेश्रो सन्तान गुमाएका थिए । यसअघि एउटा तीन र अर्को डेढ वर्षका सन्तान गुमाउँनु पर्दाको पीडा खेपिसकेका थिए । तर बिहेदान गरिदिएर नातिनातिना भएकी छोरीको मृत्यु अकल्पनीय बन्यो । सावित्रीले जन्माएका ६ जनामध्ये अब तीन सन्तान मात्रै छन् ।जेठो छोरो मलेसिया गएको चार वर्ष भयो, डेढलाख रुपैयाँ मात्रै पठाएका छन् । जाँदाको ऋण पनि तिरिसकेका छैनन् ।
कान्छो छोरो १५ वर्षका छन् । कान्छी छोरी विबाह गरेर गइसकिन् । उनीहरुले त जसोतसो गरी खालान् भन्ने आशा छ । तर ठूली छोरीले छाडेका नासोको भविष्य के होला सावित्रीलाई आफ्नो भन्दा बढी चिन्ता छ ।
No comments:
Post a Comment